रोहित पौडेललाई क्यानको भावुक बिदाइ, भन्यो- ‘एकपटकको नेता, सधैं नेता’
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक शब्दहरूसहित बिदाइ गरेको छ । सामाजिक सञ्जालमार्फत जारी सन्देशमा क्यानले रोहितको नेतृत्वकालमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरूको उच्च प्रशंसा गर्दै जोश, समर्पण र अटूट दृढताका साथ टोलीको नेतृत्व गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । रोहितको कप्तानीमा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्नुका साथै नेपाली क्रिकेट इतिहासमा लामो समयसम्म सम्झिइने क्षणहरू सिर्जना गरेको संस्थाले उल्लेख गरेको छ ।
क्यानका अनुसार टोली, राष्ट्र र खेलप्रतिको रोहितको निष्ठा सधैं अरूका लागि प्रेरणादायी रहेको छ । कप्तानीको जिम्मेवारीबाट हटे पनि उही जोश र समर्पणका साथ उनले नेपाली क्रिकेटमा योगदान दिइरहने विश्वास संस्थाले व्यक्त गरेको छ । सन्देशको अन्त्यमा क्यानले ‘एकपटकको नेता, सधैं नेता’ भन्दै रोहितप्रति सम्मान प्रकट गरेको छ । रोहितले लामो समयसम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरेका थिए ।