सिराहामा बोलबम ट्याक्टर दुर्घटना, १५ जना घाइते बालक गम्भीर
सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा सोमबार बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । फुलकुमारी महतो स्कुलको गेटअगाडिको उकालोमा उतरवाहिनीबाट महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई ट्रेलरसहित पल्टेको थियो ।
दुर्घटनामा घाइते हुनेहरूमा १२ देखि ६० वर्षसम्मका विभिन्न उमेर समूहका महिला र पुरुष श्रद्धालुहरू परेका छन्, जसमध्ये कृष्णा मण्डल, गंगिया मण्डल, राहुल दास, प्रिन्स दास, गोपाल यादव लगायतका नाम समावेश छन् । सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पुर्याइएको छ । दुर्घटनामा संलग्न ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने करिब ३५ वर्षीय चालक रामबिहारी मण्डल फरार रहेका छन् । प्रहरीले फरार चालकको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान थालेको छ ।