मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षमा निधन
काठमाडौं । अर्जेन्टिनाका प्रख्यात फुटबलर लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोनका अनुसार उनी रोजारियोको एउटा क्लिनिकमा उपचारको क्रममा थिए ।
जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै मेस्सी परिवारप्रति समवेदना जनाएको छ । कठिन समयमा आफूहरू परिवारसँगै रहेको एएफएले उल्लेख गरेको छ ।
बार्सिलोना क्लबले पनि जर्जको निधनप्रति दुःख प्रकट गर्दै लियोनलको फुटबल करियरको सुरुवाती र गौरवशाली अवधिलाई बार्सिलोनासँग जोड्न जर्जको भूमिका महत्त्वपूर्ण रहेको बताएको छ । क्लबले मेस्सी परिवारलाई साथ दिने प्रतिबद्धता पनि जनाएको छ ।
जर्ज मेस्सी लियोनलका बुबा मात्र नभई उनको फुटबल यात्राका प्रमुख सहयात्री पनि थिए । स्टिल कारखानामा सुपरभाइजर रहेका जर्जले पछि छोराको एजेन्ट र रणनीतिक सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका थिए । सानै उमेरमा मेस्सीलाई न्यूइलस ओल्ड बोइजमा खेलाउन र १३ वर्षको उमेरमा स्पेन लगेर बार्सिलोनाको युवा एकेडेमीमा भर्ना गराउनमा जर्जकै भूमिका रहेको थियो ।
त्यसबेला मेस्सी ग्रोथ हर्मोनको कमीबाट पीडित थिए, जसको उपचार खर्च बार्सिलोनाले व्यहोरेको थियो । नियमित उपचारपछि उनको शारीरिक विकासमा सुधार आई व्यावसायिक करियरले नयाँ दिशा लिएको थियो । जर्ज मेस्सीकी पत्नी सेलिया कुच्चितिनी हुन् भने उनका चार सन्तानमध्ये लियोनल, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् ।