आरोग्य पर्यटनबाट नेपालमा ३० लाख रोजगारी सिर्जना हुने सम्भावना: गुरु भानु शर्मा

nepal-can-create-30-lakh-jobs-through-wellness-tourism-lp-bhanu-sharma

लन्डन। नेपालले आगामी एक दशकभित्र आरोग्य (वेलनेस) पर्यटनका माध्यमबाट थप ३० लाख रोजगारी सिर्जना गर्न सक्ने बताइएको छ।

जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माका अनुसार नेपालले संसारलाई हिमाल र प्राकृतिक सुन्दरताका साथै आफ्नो विशिष्ट आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि प्रदान गर्न सक्छ। लन्डनस्थित नेपाली दूतावासमा भएको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आरोग्य पर्यटनको विकासले नेपालीहरूको प्रतिव्यक्ति आय पाँच गुनासम्म बढाउन सक्ने बताए।

उनले संयुक्त राष्ट्र संघले नेपाल लगायतका देशहरूको प्रस्तावमा हरेक वर्ष १५ अप्रिललाई विश्व आरोग्य दिवसका रूपमा मनाउन थालेको जानकारी दिँदै यसमा नेपालले अगुवाइ गर्नुपर्ने धारणा राखे। उनका अनुसार नेपालको हिमाली परम्परामा रहेको योग, ध्यान, अध्यात्म, माइन्डफुलनेस र प्राकृतिक स्वास्थ्य पद्धतिलाई विश्वव्यापी आरोग्यको आधारका रूपमा विकसित गर्न सकिन्छ, जसले नेपाललाई वेलनेस र समृद्धिको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउँछ।

गुरु शर्माले “हिमालयन विज्डम, ग्लोबल वेलबिइङ” भन्ने अवधारणा अघि सार्दै नेपालको आरोग्य परम्परालाई विश्वलाई दिन सकिने अमूल्य उपहारका रूपमा उल्लेख गरे। कार्यक्रममा सहभागीहरूले सेल्फ-अवेकनिङ ध्यान अभ्यास पनि गरेका थिए, जसपछि धेरैले मानसिक शान्ति र सकारात्मक ऊर्जाको अनुभूति भएको बताए।

बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल सरकारले आरोग्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताउँदै यस्ता कार्यक्रमले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा आत्मचेतना, स्वास्थ्य र समृद्धिबीचको सम्बन्धबारे छलफल पनि भएको थियो।