सिराईचुली होटलको आईपीओ ल्याउने तयारी, साधारण सभाबाट प्रस्ताव पारित हुने
काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ । यसका लागि कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ, जहाँ आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनेछ ।
कम्पनीको सञ्चालक समितिले साउन १७ गते बसेको बैठकमा आगामी भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । यही सभामा आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गरिने कम्पनीले बताएको छ ।
यसका साथै, आईपीओबाट उठ्ने रकम कसरी उपयोग गर्ने भन्ने विषयमा पनि सभामा छलफल हुनेछ । आईपीओ प्रक्रिया अघि बढाउन आवश्यक पर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गरिने छ । यसबाहेक गत आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदनजस्ता नियमित एजेन्डा पनि सभाले टुंग्याउनेछ ।
आईपीओमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने र प्राप्त पुँजी व्यवसाय विस्तार तथा पूर्वाधार विकासमा लगाउने कम्पनीको योजना छ ।