जलविद्युतमा स्थानीय प्रभावितलाई अंकित मूल्यमै सेयर दिनुपर्छ : इप्पान

local-hydropower-affected-shares-face-value-ippan

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष असर पुग्ने स्थानीयवासीलाई दिइने सेयर प्रति कित्ता १०० रुपैयाँकै अंकित मूल्यमा उपलब्ध गराउनुपर्ने माग राखेको छ।

आइतबार जारी विज्ञप्तिमार्फत संस्थाले, नियामकीय झन्झटका कारण साधारण सेयर निष्काशन प्रक्रिया लामो समयदेखि रोकिएपछि कतिपय प्रवर्द्धक कम्पनीले स्थानीयलाई प्रिमियम मूल्यमा सेयर दिने विकल्पमा छलफल गरिरहेको विषयमा चिन्ता व्यक्त गरेको छ।

स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी बनाउने उद्देश्यले कानुनतः नै १० प्रतिशत सेयर छुट्याइएको भन्दै, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ९(४) अनुसार स्थानीयलाई सेयर दिन इप्पानले सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ।

संस्थाका अनुसार जलविद्युत आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीयसँगको विश्वास र साझेदारीमा आधारित विकास अभियान हो। जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक असर बेहोर्ने र निर्माणकालीन असुविधा सहने समुदायलाई स्वामित्वमा जोड्नकै लागि यो सेयर व्यवस्था गरिएको इप्पानको तर्क छ।

यदि सेयर प्रिमियम मूल्यमा जारी भएमा स्थानीयको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर बन्ने र आयोजना-स्थानीय सम्बन्धमा नकारात्मक असर पर्ने संस्थाले जनाएको छ। अंकित मूल्यमै सेयर दिँदा भने स्थानीय वास्तविक साझेदार बन्ने, विवाद घट्ने र आयोजना समयमै सम्पन्न हुने वातावरण बन्ने विश्वास इप्पानले व्यक्त गरेको छ।

संस्थाले सरकार, नियामक निकाय र प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय हित र दीर्घकालीन सम्बन्ध ध्यानमा राखी अंकित मूल्यको नीति कायम राख्न, साथै साधारण सेयर निष्काशन प्रक्रिया सरल र समयबद्ध बनाउन आग्रह गरेको छ।