तुलसीलाल र भीमदत्तको किसान आन्दोलन विरासतलाई अघि बढाउन अध्यक्ष ओलीको आग्रह

oli-tribute-tulsilal-amatya-bhimdatta-pant-farmer-movement

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले सुरु गरेको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गरेका छन्।

अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज जारी श्रद्धाञ्जली सन्देशमा ओलीले यस्तो आह्वान गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा बलियो बनाउन पुर्याएको योगदानलाई ओलीले स्मरण गरेका छन्। सामन्ती भूस्वामित्वको युगमा “जसको जोत, उसको पोत” भन्ने नाराका साथ अमात्यले किसानहरूलाई आफ्नो हक-अधिकारका लागि सङ्गठित हुन प्रेरित गरेको ओलीको भनाइ छ। निरंकुशताविरुद्धको संघर्ष र वामपन्थी आन्दोलनमा अमात्यको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरण रहने ओलीले बताएका छन्।

सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्ती शोषणविरुद्धको संघर्षका निडर र क्रान्तिकारी योद्धाका रूपमा चिनाइएको छ। “कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो” भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको नेतृत्व गरेको उल्लेख छ।

२०१० साल साउन १७ गते पन्तलाई गोली हानी हत्या गरी किसान आन्दोलन दबाउने उद्देश्यले उनको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासकै अत्यन्त पीडादायी अध्याय भनी ओलीले उल्लेख गरेका छन्।

दुवै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको बताउँदै लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धि हासिल गर्नु नै उहाँहरूप्रतिको साँचो श्रद्धाञ्जली हुने ओलीको भनाइ छ। दुवै नेताको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सधैं सम्मानपूर्वक स्मरण रहने भन्दै ओलीले भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्।