देवानगञ्ज घटना: पोस्टमार्टमपछि शव बुझे आफन्तले, आजै अन्त्यष्टि

devanagunj-incident-postmortem-bodies-handed-over

विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शव पोस्टमार्टम गरिसकेपछि आफन्तले बुझेका छन् । आइतबार दुई समूहबीच भएको विवादका क्रममा प्रहरीले हानेको गोली लागेर सोही दिन ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

उपचाराधीन रहेका जयप्रकाश मेहताको भने बिहीबार मृत्यु भएको थियो । शुक्रबार कोशी अस्पताल विराटनगरमा पोस्टमार्टम गरिसकेपछि आफन्तले दुवैको शव बुझेका हुन् ।

यसअघि विराटनगरकै न्यूरो अस्पतालमा राखिएको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको थियो । शुक्रबार बिहान पीडित पक्ष र सरकारबीच सात बुँदे सहमति भएपछि मात्र आफन्तले शव उठाउन तयार भएका थिए ।

पोस्टमार्टम सकिएसँगै आफन्तले अन्तिम संस्कारका लागि शवलाई आ–आफ्नो गाउँतर्फ लगेका छन् । गाडीमा राखेर शवयात्रा गर्दै कप्तानगञ्ज पुर्‍याइएको थियो र आजै दुवैको अन्त्यष्टि गरिनेछ ।

शुक्रबार बिहान नै सरकार र पीडित परिवारबीच पीडितलाई राहत उपलब्ध गराउने, सहिद घोषणा गर्ने, घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीविरुद्ध कारबाही अगाडि बढाउने लगायतका विषयमा सहमति भएको थियो ।