तराई–मधेश घटना: निष्पक्ष छानबिन गर्न नेकपाको माग

nekpa-demands-fair-probe-terai-madhesh-incident

काठमाडौं । नेकपा (नेपाली कम्युनिष्ट पार्टी)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका विभिन्न जिल्लामा देखिएको हालको स्थितिप्रति गहिरो चासो व्यक्त गर्दै यसको तटस्थ छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमा शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले एक विशेष प्रस्ताव पारित गर्यो । सुनसरी, सिरहालगायतका ठाउँमा विभिन्न समूहबीच भएको झडपमा तीन जनाको ज्यान गएको र थुप्रै व्यक्ति घाइते भएको घटनामा पार्टीले दुःख प्रकट गरेको छ ।

मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई सान्त्वना र घाइतेहरूको चाँडो निको हुने कामना बैठकले गरेको छ । यसका साथै झडपको वास्तविक कारण र त्यसबेला स्थानीय प्रशासन तथा सुरक्षा निकायको भूमिका के थियो भन्ने सत्य तथ्य जनसमक्ष ल्याउन स्वतन्त्र र निष्पक्ष जाँचबुझ आयोग गठन गर्न सरकारलाई भनिएको छ ।

नेपाली समाज धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुता तथा राष्ट्रिय एकतामा आधारित रहेको बताउँदै हालको अवस्थामा पनि सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज र सामाजिक क्षेत्रबाट भइरहेका प्रयासको बैठकले प्रशंसा गरेको छ र यस्तो पहल जारी राख्नुपर्ने बताएको छ ।

धार्मिक तथा सांस्कृतिक विविधता राष्ट्रिय एकताको जग भएको भन्दै कुनै पनि समुदायबीच भेदभाव, घृणा वा हिंसा भड्काउने कुनै पनि क्रियाकलाप स्वीकार्य नहुने नेकपाले स्पष्ट पारेको छ । नेपालको संवेदनशील भूराजनीतिक अवस्थाको फाइदा उठाएर बाहिरी शक्तिले हस्तक्षेप गर्न नपाओस् भनेर सबै पक्ष सजग रहनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।

हालको परिस्थितिमा सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्री तथा सरकारले आवश्यक राजनीतिक बुझाइ देखाउन नसकेको आलोचना बैठकले गरेको छ । केवल प्रशासनिक र सुरक्षा उपायमा मात्र सीमित नरही जनतासँग सिधा कुराकानी गर्न, सबै सरोकारवालालाई विश्वासमा लिन र समस्याको दिगो राजनीतिक हल खोज्न सरकारलाई अनुरोध गरिएको छ ।

साथै हालको परिस्थितिको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, सामाजिक न्याय र संविधानले दिएका उपलब्धिलाई कमजोर बनाउने वा समुदायहरूबीच घृणा, अविश्वास र तनाव फैलाएर राजनीतिक फाइदा लिन खोज्ने कुनै पनि प्रयासबाट सजग रहन सम्पूर्ण नेपाली जनतासँग नेकपाले आग्रह गरेको छ । यस्ता विभाजनकारी चेष्टालाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्ति एकजुट हुनुपर्ने बैठकले औंल्याएको छ ।

पार्टीका सबै तह, नेता र कार्यकर्तालाई अन्य दल र संघसंस्थासँग समन्वय गरी संवाद, बैठक र सद्भाव र्‍याली जस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ ।

तराई–मधेशको हालको समस्या राष्ट्रिय हितलाई ध्यानमा राखेर समाधान गरिनुपर्ने र यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी देखाउने भएको बैठकले बताएको छ । शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउँदै संविधान र लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सम्पूर्ण नेपाली जनतालाई संयम, आपसी विश्वास र निरन्तर संवादका साथ अघि बढ्न नेकपाले आह्वान गरेको छ ।