धनुषामा कर्फ्यु लागू, बजार बन्द
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकपछि दिउँसो ३ः३० बजेदेखि थप सूचना नआउँदासम्मका लागि यो आदेश जारी गरिएको हो ।
कर्फ्यु क्षेत्र उत्तरमा लक्ष्मीनिया हाटबजार चोकदेखि पश्चिम सिनरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवा र बेलौनी रोडसम्म, दक्षिणमा नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म तथा पश्चिममा जनकपुरको बेला कादरी मस्जिदसम्म तोकिएको छ । यस क्षेत्रभित्र जुलुस, प्रदर्शन, सभा वा घेराउ जस्ता गतिविधि गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार बिहानैदेखि युवाहरूले जनकपुर बजार बन्द गराएका थिए । शहरका प्रमुख चोकहरूमा टायर बालेर सडक अवरुद्ध पारिएको र पेठिया बजार तथा दशरथनगरमा झडप भएको समाचार छ ।