‘गौंथली’ वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म
काठमाडौं । गत १ साउनदेखि प्रदर्शनमा रहेको फिल्म ‘गौँथली’ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान स्थापित गरिरहेको छ । यस वर्षको सर्वाधिक एकदिने आम्दानीदेखि पहिलो १० दिनमै सबैभन्दा बढी व्यापार गर्ने रेकर्डसमेत यही फिल्मको नाममा दर्ता भइसकेको छ । अहिले फिल्मले अझ ठूलो उपलब्धि हासिल गर्दै यस वर्ष १० करोड रुपैयाँको सीमा नाघ्ने पहिलो फिल्मको स्थान ओगटेको छ ।
डा. कपिल रिजालद्वारा निर्देशित यस फिल्मले बुधबार बेलुका ७ बजेसम्ममा नै १० करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको चलचित्र विकास बोर्डको तथ्याङ्कले देखाउँछ । यसका साथै ‘लालीबजार’ले राखेको यस वर्षको उच्चतम कमाइको रेकर्ड पनि भत्किएको छ, जुन फिल्मले ३ लाख १६ हजारभन्दा बढी टिकट बिक्रीबाट ९ करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
फिल्म शुक्रबारदेखि तेस्रो साता प्रवेश गर्दैछ, तर व्यापारको गति भने अझै मन्द भएको छैन । दोस्रो साताभरि पनि दैनिक ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ, जबकि गत शनिबार एकै दिन १ करोड ६५ लाख रुपैयाँ उठेको थियो । बोर्डले आगामी सोमबार सार्वजनिक गर्ने विवरणमा फिल्मको कुल व्यापार १३ करोड रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।
बाल विवाहको विषयवस्तुमा आधारित रही श्रीमान्-श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर बनाइएको यस फिल्मले विशेषतः महिला दर्शकहरूको ठूलो आकर्षण पाएको छ, जहाँ हलमा पुग्नेमध्ये करिब ८० प्रतिशत महिला रहेका छन् । दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै फिल्मको व्यापार दिनानुदिन बढ्दै गएको छ र सम्पूर्ण प्रदर्शन अवधिमा यसले १५ देखि १७ करोड रुपैयाँसम्म व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।
यस्तो असाधारण व्यावसायिक सफलताका बीच फिल्मका दुई प्रमुख कलाकार अरुण क्षेत्री र सिम्रन खड्काको अभिनयले पनि व्यापक चर्चा पाइरहेको छ । अरुणलाई अहिले उदीयमान ‘स्टार’का रूपमा हेरिन थालिएको छ, जसले फिल्ममा अटिजमग्रस्त ‘ठूले’ पात्रको भूमिकामा प्रभावकारी अभिनय गरेका छन् । यो फिल्म उनको करिअरको महत्त्वपूर्ण मोड बन्ने देखिन्छ ।
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले लेखेको कथामा आधारित यस फिल्ममा अरुण र सिम्रनका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ । करिब तीन दशकअघि निर्मित गीति फिल्म ‘गौँथली’का पात्रहरूबाट प्रेरित रही यो फिल्म बनाइएको हो ।