गुरु पूर्णिमामा महाबुद्ध महाविहारमा विशेष पञ्चदान तथा दीपंकर बुद्धको शोभायात्रा सम्पन्न
गुरु पूर्णिमाको अवसरमा काठमाडौंस्थित ऐतिहासिक महाबुद्ध महाविहारमा विशेष पञ्चदान कार्यक्रम तथा दीपंकर तथागत बुद्धको शोभायात्रा आयोजना गरिएको छ।
महाबुद्ध महाविहार शाक्य गुठीको संयोजकत्व र महाबौद्ध टोल विकास तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न महाविहारका ८५ जना श्रद्धेय शाक्य स्थविर तथा थायपाज्युहरूलाई पञ्चदान अर्पण गरिएको थियो। कार्यक्रममा दीपंकर तथागत बुद्धसहित जीवित देवता श्री गणेश र श्री भैरवलाई विराजमान गराई शान्ति, समृद्धि र जनकल्याणको कामना गरिएको थियो। महाबौद्धबाट सुरु भएको शोभायात्रा असन, त्यौड, इनबहाल, कमलाक्षी र भोटाहिटी हुँदै असन डबलीमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले बुद्ध धर्म, दान परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।