हेपाटाइटिस ‘बी’ र ‘सी’ ‘साइलेन्ट’ रोग भएकाले समयमै परीक्षण गर्न चिकित्सकको आग्रह

hepatitis-b-c-silent-disease-dr-sagar-paudel-nepal

कलेजो तथा पेट रोग विशेषज्ञ डा. सागर पौडेलका अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ सुरुवाती चरणमा प्रायः कुनै लक्षण नदेखिने ‘साइलेन्ट’ रोग भएकाले धेरै बिरामीमा कलेजोमा गम्भीर क्षति पुगिसकेपछि मात्रै संक्रमण पत्ता लाग्ने गर्छ।

समयमै परीक्षण र उपचार नभए यी संक्रमणले कलेजोको सिरोसिस र क्यान्सरसम्म निम्त्याउन सक्छन्। हेपाटाइटिस ‘बी’ र ‘सी’ संक्रमित रगत, असुरक्षित यौन सम्पर्क, संक्रमित सुई तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्छ भने हेपाटाइटिस ‘ए’ र ‘ई’ दूषित खाना र पानीबाट फैलिने गर्छ।

हेपाटाइटिस ‘बी’को दीर्घकालीन उपचार सम्भव रहेको र हेपाटाइटिस ‘सी’लाई औषधिबाट पूर्ण रूपमा निको पार्न सकिने भएकाले जोखिम समूहले नियमित परीक्षण गराउनुपर्ने उनले बताए।

साथै, हेपाटाइटिस ‘बी’विरुद्धको खोप, समयमै परीक्षण र उपचार नै संक्रमण नियन्त्रण तथा कलेजोको सिरोसिस र क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको उनले जोड दिए।