प्रतिबन्धित वस्तु बिक्री वितरण नगर्न विभागको कडा चेतावनी
काठमाडौं । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनी रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी जारी गरेको छ ।
विभागले सोमबार सूचना निकाल्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गैरकानुनी रहेको भन्दै सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरेको हो ।
निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) अनुसार सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत सूचना प्रकाशन गरी केही वस्तुहरूको आयात–निर्यातमा पूर्ण वा आंशिक बन्देज लगाएको छ । विभागका अनुसार २०७६÷०३÷०२ र २०७६÷१२÷२४ लगायतका मितिहरूमा राजपत्रमा सूचना प्रकाशित गरी यस्ता वस्तुको पैठारीमा सर्त, समयसीमा वा पूर्ण मनाही गरिएको छ ।
तर बन्देज लगाइएका यी वस्तुहरू हाल पनि बजारमा भौतिक रूपमा मात्र नभई विभिन्न डिजिटल प्ल्याटफर्महरूमार्फत समेत खुलेआम बिक्री वितरण भइरहेको गुनासो तथा उजुरी पाइएको विभागले जनाएको छ । यस्तो कारोबारप्रति विभागको गम्भीर ध्यान गएको समेत उल्लेख छ ।
विभागले सम्पूर्ण पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनी दायित्व र शर्तबन्देजको पूर्ण पालना गरी मात्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । कानुनविपरीत कार्य भेटिएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ र अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ ।