बल्खु खोला करिडोरमा १,१५० बिरुवा रोपण, रोटरीको १ लाख वृक्षारोपण अभियान तीव्र
काठमाडौं । उपत्यकाको सहरी वातावरणलाई हराभरा र स्वच्छ बनाउने उद्देश्यले बल्खु खोला करिडोर (जिरो प्वाइन्टदेखि प्रहरी चौकीसम्म) क्षेत्रमा ठूलो वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब अफ कीर्तिपुरको नेतृत्व र कीर्तिपुर नगरपालिकाको सहकार्यमा भएको यस कार्यक्रममा रोटरी क्लब अफ नेपाल मण्डल, बालाजु, ज्ञानेश्वर, काठमाडौँ सर्कल, ठिमी र बागलुङका रोटरी क्लबहरूको संयुक्त सहभागिता रहेको थियो ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले २०२६–२७ का लागि सञ्चालन गरेको १ लाख वृक्षारोपण अभियान र जुलाई २६ देखि अगस्ट १ सम्मको वृक्षारोपण सप्ताह अन्तर्गत यो ‘मेगा ट्री प्लान्टेशन प्रोग्राम २०८३’ (प्रोजेक्ट धन्यवाद) आयोजना गरिएको हो ।
कार्यक्रममा कपुर, धुपी, आँप, कल्की फूल, तेजपात र कडीपत्ता लगायत विभिन्न प्रजातिका जम्मा १,१५० बिरुवा रोपिएका छन् भने करिडोर क्षेत्रमा सरसफाइ अभियान पनि सँगसँगै सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले वातावरण संरक्षणप्रतिको रोटरीको प्रतिबद्धता दोहोर्याउनुभयो । विशेष अतिथिका रूपमा उपस्थित कीर्तिपुर नगरपालिका प्रमुख कृष्णमान डंगोल र वडा नं. २ अध्यक्ष रुपेश महर्जनले यस्ता हरित अभियानमा स्थानीय सरकारको निरन्तर सहयोग रहने बताए ।
रोटरी क्लब अफ कीर्तिपुरका अध्यक्ष रमेशमान डंगोलले हरित सहर निर्माणमा वृक्षारोपणको महत्त्व औंल्याए भने कार्यक्रम संयोजक पुष्पराज अधिकारीले करिडोरका बाँकी खाली स्थानहरूमा पनि साप्ताहिक रूपमा वृक्षारोपण जारी रहने जानकारी दिए ।
रोट्राक क्लब अफ नेपाल मण्डलसँग मिलेर बिरुवा रोप्दै रोटरी क्लब अफ नेपाल मण्डलका अध्यक्ष उत्तम भट्टराईले रूखबिरुवाविनाको जीवन अधुरो हुने र यो अभियान वातावरण संरक्षणको कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।