सुनसरी झण्डा विवाद : प्रहरी गोलीबाट एकको मृत्यु, थुप्रै घाइते

sunsari-flag-dispute-police-firing-death

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्ज बजारमा साउने सोमबारको तयारीका क्रममा झण्डा राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएपछि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने थुप्रै व्यक्ति घाइते भएका छन् ।

आइतबार साँझ करिब साढे ७ बजे देवानगन्ज–३ का दिलिप मेहताका छोरा तथा कक्षा १० मा अध्ययनरत मिथलेश मेहता घर नजिकैको कप्तानगन्ज बजार पुगेका थिए, जहाँ मन्दिरमा भइरहेको तयारीका बेला पोलमा झण्डा राख्ने कुरामा एक समूहले अवरोध गर्न खोज्दा दुई पक्षबीच झडप सुरु भएको थियो । यसै झडपमा मिथलेशलाई समेत गोली लागेको थियो ।

छोराको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुगेका दिलिपका अनुसार घटनामा प्रहरीबाट ठूलो त्रुटि भएको छ । झण्डा प्रकरणमा विवाद सुरु भए पनि सुरुमा कतैबाट लठ्ठी नचलेको र गोली प्रहरीकै तर्फबाट चलेको उनको दाबी छ । आक्रमण गर्ने समूह भागेपछि झण्डा राख्न गएका सर्वसाधारणमाथि नै प्रहरीले बल प्रयोग गरेको र आफूले देखेका झन्डै सबै घाइतेलाई कम्मरभन्दा माथिको भागमा गोली लागेको दिलिपको भनाइ छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी जम्मा २५ राउन्ड गोली चलाएका थिए, जसमा १० जना स्थानीय बासिन्दालाई गोली लागेको थियो । तीमध्ये हाल ९ जनाको उपचार भइरहेको छ ।

गोली लागेर देवानगन्ज–३ कै २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । बाँकी ९ घाइतेको पनि शरीरको माथिल्लो भागमा नै गोली लागेको पाइएको छ ।

न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहतालाई पेटमा, मिथलेश मेहतालाई पेटको देब्रे भागमा र अमलेश मेहतालाई ढाड तथा गर्दनमा गोली लागेको छ । नोबेल अस्पताल भर्ना गरिएका अमित यादवको पेट र देब्रे हातमा गोलीको चोट देखिएको छ ।

विराट नर्सिङ होममा रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहता उपचाररत छन् । अस्पताल स्रोतका अनुसार उनीहरूलाई पनि कम्मरमाथिको भागमै गोली लागेको हो । यस झडपमा १३ सुरक्षाकर्मीसहित कुल २२ जना घाइते भएका छन् ।