बर्लिन प्राइडमा भीडमाथि गाडी चढ्दा एकको मृत्यु, १७ घाइते
काठमाडौं । जर्मनीको बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रमका क्रममा शनिबार राति एउटा गाडी मानिसहरूको भीडभित्र पसेपछि कम्तीमा एक जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था नाजुक रहेको बताइएको छ ।
घटना टियरगार्टेन पार्क क्षेत्रमा घटेको हो । दुर्घटनापछि गाडी चलाइरहेको व्यक्ति भागेको छ भने घटनास्थलमा बिग्रिएको अवस्थामा सेतो रङको गाडी भेटिएपछि प्रहरीले चालकको पत्ता लगाउन ठूलो खोजी अभियान थालेको छ ।
बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथले एउटा सवारीसाधन टियरगार्टेन पार्कभित्र पसेर धेरैलाई ठक्कर दिएको प्रारम्भिक जानकारी आएको बताएका छन् । यो योजनाबद्ध हमला थियो वा दुर्घटना, सोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको थियो । शंकास्पद व्यक्तिको खोजी तीव्र पारिएको र घटनासँग जोडिएका सबै पाटामा अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ ।
घाइते १७ जनामध्ये कतिपयको अवस्था गम्भीर रहेको बर्लिन प्रहरीले जनाएको छ । पीडितका परिवारजनका लागि छुट्टै सूचना केन्द्र खडा गरिएको छ । घटनास्थल अवलोकनपछि बर्लिनका मेयर काइ वेग्नरले यसलाई कडा शब्दमा निन्दा गर्दै बर्लिनको खुला, स्वतन्त्र र सहिष्णु समाजमाथिकै आक्रमण भएको टिप्पणी गरेका छन् । उनले पीडित तथा परिवारप्रति समवेदना व्यक्त गर्दै छिट्टै न्याय हुने विश्वास दिलाएका छन् ।
शनिबार बर्लिनमा भइरहेको यस प्राइड कार्यक्रममा लाखौंको सहभागिता थियो । ब्रान्डेनबर्ग गेटनजिक सांगीतिक कार्यक्रम चलिरहेकै बेला राति करिब १०ः१५ बजे दुर्घटना भएपछि परेड तत्कालै रोकिएको थियो ।
प्रहरीले सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढै रहन र उद्धार कार्यमा सहयोग पुर्याउन घर फर्कन आग्रह गरेको छ । घटनाको वास्तविक कारण र चालकको मनसायबारे अनुसन्धान अझै जारी छ । एएनआई