नबिल बैंकलाई युरोमनीका तीन अन्तर्राष्ट्रिय अवार्ड
नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्सअन्तर्गत तीन महत्वपूर्ण उपाधि जित्दै नेपालको बैंकिङ क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधिबाट सम्मान प्राप्त गरेको हो।
बैंकका अनुसार यी अवार्डहरूले नबिल बैंकको सुदृढ वित्तीय प्रदर्शन, ग्राहक केन्द्रित सेवा, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ESG) सम्बन्धी प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएका छन्। साथै साना तथा मझौला उद्यम (SMEs) को विकास र आर्थिक सशक्तीकरणमा बैंकले पुर्याएको योगदानलाई पनि सम्मान गरिएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्राप्त सम्मानले बैंकप्रति ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारहरूले देखाएको विश्वासलाई थप मजबुत बनाएको बताएका छन्। उनका अनुसार यी उपलब्धिले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई अझ सशक्त बनाउनेछ। उनले आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। यस अवार्डमार्फत वित्तीय संस्था, नवप्रवर्तन, नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न बैंकहरूलाई सम्मान गरिन्छ।
नबिल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ विस्तार, वित्तीय समावेशीकरण, हरित वित्त, दिगो बैंकिङ अभ्यास तथा ग्राहक सेवामा निरन्तर सुधार गर्दै आएको जनाएको छ। हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै ‘Banking and Beyond’ अवधारणामार्फत दीर्घकालीन मूल्य सिर्जना गर्दै समावेशी र समृद्ध भविष्य निर्माणमा केन्द्रित रहेको बैंकको भनाइ छ।