MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

maxus-eterron9-comfort-electric-pickup-nepal-launch

चाइनाको SAIC ग्रुप अन्तर्गत MAXUS सवारीसाधनको नेपालको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ शक्तिशाली इलेक्ट्रिक फोर-हिवल ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ, जुन मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ । यसअघि कम्पनीले यसैको प्रिमियम भर्सन एक वर्षअघि सार्वजनिक गरिसकेको थियो, जसको हाल मूल्य १ करोड २८ लाख रुपैयाँ रहेको छ ।

दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त eTERRON 9 Comfort मा अमेरिकन स्ट्यान्डर्ड साइजसहित १०२.२ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपाल आयात हुने सवारीसाधनहरूमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री प्याक हो । यसले एकपटक पूर्ण चार्ज गर्दा NEDC मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ भने ११५ kW सम्मको DC फास्ट चार्जिङमार्फत करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन सक्छ ।

गाडीमा अगाडि १२५ kW र पछाडि २०० kW क्षमताका दुई इलेक्ट्रिक मोटर छन्, जसले कुल ७०० Nm टर्क उत्पादन गर्छ र केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

२६० एमएम उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली फोर-हिवल ड्राइभ र विभिन्न ड्राइभिङ मोडसहित यो गाडी हिमाली तथा पहाडी सडक, हिलो सडक र ढुङ्गे सडकमा समेत चलाउन उपयुक्त रहेको हिमालय मोट्रक्सले जनाएको छ । गाडीको पेलोड क्षमता १,०५० किलोग्राम रहेको छ, जुन यस सेग्मेन्टकै सबैभन्दा बढी हो । एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको यस गाडीमा डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी-लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक-फरक सडक अवस्थामा पनि आरामदायी र स्थिर यात्रा दिन सहयोग गर्छ ।

पाँच यात्रुका लागि तयार गरिएको यस गाडीको क्याबिनमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिनसहित Apple CarPlay, Android Auto, अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, चाबीरहित सञ्चालन प्रणाली, Vehicle-to-Load सुविधा लगायतका आधुनिक सुविधा उपलब्ध छन् ।

MAXUS eTERRON 9 पिकअपले प्रतिष्ठित Euro NCAP बाट फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ, जुन रेटिङ नेपालमा आयातित थोरै सवारीसाधनले मात्र पाएका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले Maxus जस्तो विश्वप्रसिद्ध कम्पनीको विद्युतीय पिकअपलाई नेपालमा आकर्षक मूल्यमा ल्याउन पाउँदा खुसी लागेको बताए । उनले आगामी नाइमा अटो एक्स्पोमा माक्सस कम्पनीकै लक्जरी माइक्रोबस समेत सार्वजनिक गर्न लागिएको जानकारी दिए । हाल काठमाडौं र पोखराबाट शोरुम सञ्चालित रहेको यस गाडीको नेपालभर ६ प्रमुख सहरमा सर्भिस आउटलेट रहेको उनले बताए ।

विगत १० वर्षदेखि फोर्स मोटर्सको नेपालको आधिकारिक आयातकर्ता रहँदै आएको हिमालय अर्गनाइजेसनले केही दिनभित्रै चीनको Dongfeng कम्पनीका विभिन्न सिरिजका बस समेत नेपालमा सार्वजनिक गर्न लागेको जनाएको छ ।