पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस रामेछापको भँगेरीमा मनाइयो
नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औं स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा श्रद्धा व्यक्त गर्दै मनाइएको छ ।
नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा भँगेरीमा रहेको शहीद गंगालाल र नेकपाका संस्थापक महासचिव पुष्पलालको सालिकमा पुष्पगुच्छा चढाएर स्मृति दिवस मनाइएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै ढुङ्गेलले पुष्पलाललाई दूरदर्शी नेता भन्दै नेपालमा लोकतन्त्र स्थापनाका लागि कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने पुष्पलालको दृष्टिकोणकै कारण नेपालमा बहुदल र गणतन्त्र प्राप्त भएको स्मरण गराए । बाम-लोकतान्त्रिक गठबन्धन हुनुपर्ने अडानका कारण पुष्पलाललाई त्यसबेला गद्दार भनिए पनि कालान्तरमा उनको दृष्टिकोण सही साबित भएको उनले उल्लेख गरे ।
ढुङ्गेलले आज फेरि नेपालमा वामशक्ति एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउँदै वामपन्थीको बढ्दो लोकप्रियताकै कारण अहिले सामाजिक सञ्जालमार्फत आक्रमण भइरहेको दाबी गरे । वामपन्थी, लोकतान्त्रिक शक्ति र संविधान निर्माता शक्तिहरू फेरि एकजुट भएर जानुपर्ने मान्यता नेकपा एमालेले राखेको स्पष्ट पार्दै उनले विदेशी शक्तिको जालमा नपर्नेहरूलाई मिलाएर लैजाने अडान दोहोर्याए ।
एमाले जहाँ रूपान्तरण हुनुपर्छ त्यहाँ रूपान्तरण हुन तयार रहेको र देशको रक्षा, विकास र समृद्धिको यात्रामा जस्तोसुकै त्याग गर्न तयार रहेको उनले स्पष्ट पारे । कार्यक्रममा एमालेका प्रदेश कमिटीका नेता, जनप्रतिनिधि, जिल्ला कमिटीका नेता, जनसंगठनका नेता र स्थानीय तहका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।