भोटेकोशी रिसोर्टमा फर्जी सञ्चालक समिति, दीपेन्द्र अग्रवाल विवादमा
सेयर कारोबारी दीपेन्द्र अग्रवालले भोटेकोशी हेली रिसोर्ट लिमिटेडमा फर्जी सञ्चालक समिति गठन गरी कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत समेत गराएको पाइएको छ।
रिसोर्ट नेपाल बैंकमा धितो राखिएको छ। पुराना लगानीकर्ताबाट सम्पत्ति-दायित्वको जिम्मा लिएका अग्रवालले बैंकको कर्जा भने तिरेका छैनन्। कालोसूचीमा पर्ने जोखिम देखेपछि उनले फर्जी सञ्चालक समिति बनाई कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गरेका हुन्, जसलाई कार्यालयले पनि मान्यता दिएको छ। तर अग्रवालले सञ्चालक तोकेको भनिएका व्यक्तिले नै आफूलाई यसबारे कुनै जानकारी नभएको भन्दै उजुरी दिएका छन्।
कोभिड र सिन्धुपाल्चोकको पहिरोजस्ता कारणले रिसोर्ट सञ्चालनमा समस्या आएपछि पुराना लगानीकर्ताले सेयर बेचेरै भए पनि बैंक ऋण तिर्ने बाटो रोजेका थिए। सुवास प्रधानले नयाँ लगानीकर्ता भित्र्याउने जिम्मा लिएपछि सोही क्रममा दीपेन्द्र अग्रवाल प्रवेश गरेका थिए। हाल अग्रवाल र परिवारको स्वामित्वमा १७ लाख कित्ता सेयर रहेको छ।
एक सेयरधनीका अनुसार अग्रवालले बैंकको ६ करोड ९० लाख बक्यौता तिरे पनि व्यक्तिगत जमानी फिर्ता नगरी १८ करोड लगानी फिर्ता माग्न थालेपछि विवाद चर्किएको हो। बैंकको ३२ करोड कर्जा नतिरेका कारण रिसोर्ट पहिले नै तीन पटक लिलामी सूचनामा परिसकेको छ, अब चौथोपटक लिलाम प्रक्रिया अघि बढ्दैछ।
२०८२ भदौ २८ मा नयाँ सञ्चालक समिति गठन भई अग्रवाल अध्यक्ष बनेका थिए, र सदस्यमा सुवास प्रधान, मिता मुरारका अग्रवाल, उमेश गुप्ता, जयप्रकाश गुप्ता र रविन्द्र प्रसाद रहेका थिए। अग्रवालले यी सबैले २०८२ माघ ८ मा राजीनामा दिएको देखाउँदै नयाँ समिति बनाएका हुन्। कानुनी प्रक्रिया नपुगेको भन्दै यस विरुद्ध कम्पनी रजिस्ट्रारमा उजुरी परेको छ, र हाल अग्रवालकै समिति पुनःस्थापना गर्ने गरी काम अघि बढेको जानकारहरूले बताएका छन्।
सञ्चालक बनाइएका उमेश गुप्ताले आफूलाई कुनै जानकारी नदिई, आफ्नो हस्ताक्षरै नलिई नाम राखिएको भन्दै असार २३ मा कम्पनी रजिस्ट्रारमा उजुरी दिएका छन् र सञ्चालक दायित्वबाट मुक्त गरिपाउँ भन्ने मागसमेत राखेका छन्।