जनकपुरमा प्रचण्ड : मधेश आन्दोलनका लागि एउटा बलियो पार्टी निर्माण गरौं
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सशक्त पार्टी खडा गर्न नसकिए मुलुक र कम्युनिष्ट आन्दोलन दुवैले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण एवं एकता भेलालाई सम्बोधन गर्दै उनले जनसंख्या र विकासको हिसाबले मधेश प्रदेश ठूलो सम्भावना र चुनौती दुवै बोकेको क्षेत्र भएकाले यहाँको संगठनलाई विशेष प्राथमिकता दिइएको जनाए।
प्रचण्डका अनुसार मधेशमा पार्टी सुदृढ बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि एउटा शक्तिशाली राजनीतिक आधार तयार हुनेछ। तर यसो गर्न चुकेमा देश र कम्युनिष्ट आन्दोलनले ठूलो असफलता सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।
उनले हाल पार्टीले मधेशमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र कार्यकर्ता परिचालनलाई सर्वोच्च प्राथमिकतामा राखेको बताए। कार्यक्रममा उनले नवनिर्वाचित प्रदेश समिति पदाधिकारीहरूलाई शपथ दिलाए र नेताकार्यकर्ताबाट प्राप्त सुझावहरूलाई समेटेर पार्टी थप बलियो बनाउने प्रतिबद्धता जनाए।