दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद क्षेत्रमा उच्च सुरक्षा सतर्कता
काठमाडौं । भारतीय राजधानी नयाँ दिल्लीमा सुरक्षा चुस्तदुरुस्त बनाउने क्रममा दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशनलाई अस्थायी रूपमा बन्द गरेको छ ।
अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहने डीएमआरसीले जनाएको छ । यद्यपि यात्रुको सुविधाका लागि राजीव चोक, मण्डी हाउस र केन्द्रीय सचिवालयमा भने इन्टरचेन्ज सुविधा जारी रहनेछ ।
भारतीय संसदको मनसुन अधिवेशन जारी रहेकै बेला जंतर-मंतर र संसद भवन वरपर प्रदर्शनको सम्भावना बढेपछि यो सुरक्षा सतर्कता अपनाइएको हो । यसअघि पनि सुरक्षा कारण देखाउँदै जनपथ, राजीव चोक, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ गरी पाँच स्टेशन बन्द गरिएको थियो । संसद घेराउ गर्ने आह्वानसँगै केही समूहले प्रदर्शन तयारी गरेपछि दिल्ली प्रहरीले सुरक्षा थप कडा बनाएको हो र नियन्त्रणका लागि र्यापिड एक्सन फोर्स (आरएएफ) परिचालन गरिएको छ ।
दिल्ली प्रहरीका अनुसार संसद मार्चका लागि कुनै आधिकारिक अनुमति लिइएको छैन । भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस)को धारा १६३ अन्तर्गत नयाँ दिल्ली जिल्लामा निषेधाज्ञा लागू गरी पाँच वा सोभन्दा बढी व्यक्ति जम्मा हुने, जुलुस र प्रदर्शनमा रोक लगाइएको छ ।
तर प्रदर्शनकारीहरूले जंतर-मंतरमा आन्दोलन जारी राखेका छन् । शिक्षामा अनियमितता र परीक्षा प्रश्नपत्र चुहावटजस्ता विषय उठाउँदै सुरु भएको यस आन्दोलनमा अभियन्ता सोनम वाङचुक पनि संलग्न भएका थिए । जुनदेखि सुरु भएको यो प्रदर्शनले राष्ट्रिय चर्चा पाइसकेको छ र आन्दोलनकारीले शिक्षा प्रणालीमा देखिएका कमजोरीको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन् । एएनआई