राजदूतहरूसँग एक्लाएक्लै भेट्ने बालेनको तयारी, समयतालिका बन्दै

balen-shah-prepares-one-on-one-meetings-with-foreign-ambassadors

काठमाडौं । कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई नभेटेको भन्दै लगातार आलोचनाको सामना गरिरहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अब नेपालस्थित विभिन्न देशका राजदूत तथा नियोग प्रतिनिधिहरूलाई एक्लाएक्लै भेट्ने तयारी थालेका छन्।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार यसका लागि समयतालिका तयार गर्ने काम भइरहेको छ। पहिलो चरणमा भारतीय राजदूत नविन श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने कार्यक्रम रहेको भए पनि अहिलेसम्म ठोस समय तय नभएको स्रोतले जनाएको छ। त्यसपछि क्रमशः अन्य देशका राजदूतहरूसँग पनि भेटवार्ता हुने तालिका छ।

चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि बालेनले चैत २५ मा विभिन्न देशका राजदूतहरूसँग एकसाथ भेटवार्ता गरेका थिए, जहाँ राजदूतहरूले उनलाई बधाई दिनुका साथै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र नीतिबारे जानकारी दिएका थिए। त्यसपछि जेठ १२ मा युरोपेली संघ सदस्य राष्ट्रका राजदूतहरूसँग पनि संयुक्त भेटघाट भएको थियो।

तर प्रधानमन्त्री बालेन नियुक्त भएयता अमेरिका र चीनबाट भएका धेरै उच्चस्तरीय भ्रमणका बेला भने उनले कुनै पनि प्रतिनिधिसँग भेट्न मानेका थिएनन्। वैशाखदेखि असारसम्म अमेरिकी सहायक विदेशमन्त्री, विशेष दूत, उपविदेशमन्त्री लगायत उच्च अधिकारीहरूले भेट्ने प्रस्ताव राखे पनि भेट हुन सकेन। त्यस्तै चिनियाँ उपवाणिज्यमन्त्रीको भ्रमणका बेला पनि भेट भएन।

प्रधानमन्त्रीले समय नदिएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रस्तावित नेपाल भ्रमण नै स्थगित गरेका थिए। हालसालै भारतीय अतिरिक्त सचिव मुनु महावरले नेपाल भ्रमण गरे तापनि उनले पनि प्रधानमन्त्रीसँग भेट्न पाएनन्। यसरी आएका विदेशी प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरे पनि प्रधानमन्त्रीको भेट भने पाउन सकेका छैनन्।