साउनको पहिलो सोमबार पशुपतिमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजन सन्तुष्ट

pashupatinath-shrawan-monday-smooth-darshan-devotees

साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान् शिवको पूजा तथा दर्शन गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख-शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताए । उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नुपरेको जानकारी दिँदै पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएकोमा सन्तुष्टि व्यक्त गरे । साउन महिनामा शिवको व्रत बस्नु धार्मिक दृष्टिले मात्र नभई सबैका लागि शुभ मानिने विश्वास रहेको पनि उनले उल्लेख गरे ।

यसैगरी दर्शनका लागि मन्दिर पुगेकी अप्सरा लामिछानेले यसपटक धेरै समय लाइनमा बस्नुनपरेको र सहज रूपमा भगवान् पशुपतिनाथको दर्शन गर्न पाएको बताइन् । प्रत्येक साउनको सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न आउने गरेको उल्लेख गर्दै उनले यस वर्ष पनि भगवान् शिवसँग आफ्नो र परिवारको सुस्वास्थ्यको कामना गरेको बताइन् ।

त्यस्तै पशुपतिनाथको दर्शन गर्न पुगेकी अम्बिका फुयाँलले पनि यसपटक दर्शनका लागि धेरै समय लाइनमा बस्नुनपरेको बताइन् । उनका अनुसार मन्दिरमा दर्शन व्यवस्था सहज रहेको र अघिल्ला वर्षको तुलनामा व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ ।