अब देशको विकास महिला उद्यमीले गर्ने समय : अभिनेता सरोज खनाल
अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
मञ्जिला ब्युटी पार्लरको १५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे । संस्थापक मञ्जिलाको नामको अर्थ ‘भाग्यमानी’ रहेको भन्दै त्यो भाग्यसँगै निरन्तरको मेहनत र समर्पणले संस्था यो उचाइमा पुगेको उनले बताए ।
‘१५ वर्षसम्म कुनै संस्था टिक्नु भनेको त्यसले केही राम्रो काम गरेको प्रमाण हो । मञ्जिलाजीलाई हार्दिक बधाई छ । उहाँले अब नयाँ उत्पादन पनि सार्वजनिक गर्नुभएको छ, यसले अझ सफलता प्राप्त गरोस् भन्ने शुभकामना छ,’ खनालले भने ।
ठूलो संख्यामा नेपाली पुरुष रोजगारीका लागि विदेशिन बाध्य भएकाले देशको जिम्मेवारी अहिले धेरै हदसम्म महिलाको काँधमा आएको उनले उल्लेख गरे । ‘अबको नेपाल महिलाले चलाउने देश हो । लाखौं पुरुष विदेशमा पसिना बगाइरहेका छन् । देशभित्र बसेर उद्योग, व्यवसाय र उद्यममार्फत देश निर्माण गर्ने जिम्मा महिलाले नै सम्हालिरहेका छन् । देशको विकास भाषणले होइन, यस्ता उद्यमीहरूले गर्छन्,’ खनालले भने ।
कार्यक्रममा उनले नेताहरूको भाषणभन्दा उद्यम र उत्पादनले देशलाई अघि बढाउने धारणा व्यक्त गर्दै महिला उद्यमीहरूको योगदानको प्रशंसा गरे । यसै क्रममा उनले युवा कवि नवराज पराजुलीको वैदेशिक रोजगारीको पीडा समेटिएको कविता वाचन गर्दै विदेशिएका नेपाली श्रमिकहरूको अवस्था अत्यन्त मार्मिक रहेको बताए र स्वदेशमै रोजगारी सिर्जना गर्न सकिए मात्र युवाहरू बाध्य भएर विदेश जानुपर्ने अवस्था अन्त्य हुने धारणा राखे ।
अन्त्यमा आफूले कुनै सौन्दर्य प्रसाधन प्रयोग नगर्ने उल्लेख गर्दै खनालले हास्यमय शैलीमा भने, ‘यदि अझ राम्रो देखिन चाहनुहुन्छ भने मञ्जिलाजीको उत्पादन प्रयोग गर्नुस् ।’