मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच स्वागत कार्यक्रम सम्पन्न, १८ महिने नाट्य प्रशिक्षण सुरु

mandala-drama-school-third-batch-welcome-program

मण्डला थिएटर-नेपालले मण्डला ड्रामा स्कूल (MDS) को तेस्रो ब्याच (२०२६-२०२७) का विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रबार काठमाडौंको मण्डला थिएटरमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस स्वागत कार्यक्रमसँगै युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित RANGA (Reclaiming Advocacy through Narratives, Debates, Grassroot Theatre and Arts) परियोजना अन्तर्गतको १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । नेपालभरका सामाजिक रूपमा सचेत नाटक सर्जक, रंगकर्मी, प्रशिक्षक, लेखक, निर्देशक र सांस्कृतिक नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले सञ्चालित यस स्कूलको तेस्रो ब्याचका लागि देशभरबाट परेका आवेदनमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १५ जना सहभागी चयन भएका हुन् ।

कार्यक्रमको अध्यक्षता मण्डला थिएटर-नेपालका अध्यक्ष बुद्धिराम तामाङले गरेका थिए भने नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रममा सरकारी निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था र रंगमञ्च क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा RANGA परियोजना र मण्डला ड्रामा स्कूलको यात्राबारे जानकारी गराइएसँगै नयाँ विद्यार्थीहरूको औपचारिक परिचय र स्वागत उपहार प्रदान गरिएको थियो ।

मण्डला ड्रामा स्कूलको पाठ्यक्रम अभ्यास र समुदायमुखी बनाइएको छ, जसमा अभिनय, शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च र स्वतन्त्र नाटक निर्माण प्रक्रियालाई तीन सेमेस्टरमा समेटिएको छ । यसले विद्यार्थीलाई स्वतन्त्र, सामाजिक रूपमा सचेत र समुदायसँग सहकार्य गर्न सक्ने रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा GIZ का प्रतिनिधिले अघिल्ला दुई ब्याचसँगको अनुभव साझा गर्दै दीर्घकालीन नाट्य शिक्षाले युवा रंगकर्मीको क्षमता विकासमा पुर्‍याएको योगदान औंल्याए भने राजदूत लोरेन्जोले रंगमञ्चलाई संवाद, सांस्कृतिक संरक्षण र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम भन्दै विद्यार्थीलाई जिज्ञासु र जिम्मेवार कलाकार बन्न प्रेरित गरिन् ।

मण्डला एलुम्नाई सर्कलले नयाँ विद्यार्थीको स्वागतमा विशेष नाट्य प्रस्तुति दिएको यस कार्यक्रमपछि विद्यार्थीहरूले औपचारिक रूपमा १८ महिने आवासीय अध्ययन सुरु गर्नेछन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष तामाङले युरोपियन युनियन, साझेदार संस्था डिबेट नेटवर्क नेपाल (DNN) र क्याम्पेन फर चेन्ज (CfC) लगायत सबैप्रति आभार व्यक्त गरे ।