ओलीको आरोप : वर्तमान सरकार तानाशाही र फासिजमतर्फ उन्मुख

oli-accuses-government-dictatorship-fascism

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको गम्भीर आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणलाई अत्याचारको पराकाष्ठा भन्दै तीव्र आलोचना गरे । एक ठाउँको अवलोकन गर्न गएकै कारण अभियन्तालाई लछारपछार गरिएको र यसविरुद्ध विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गर्दा समेत रोक लगाइएको भन्दै उनले वर्तमान सरकारलाई तानाशाहीभन्दा पनि बढी फासिजमको बाटोमा रहेको आरोप लगाए ।

साथै उनले सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनालाई पनि उठाउँदै यो कार्य सरकारकै निर्देशनमा भएको दाबी गरे । त्यस्ता गाडी सहजै फुत्किने तर कुनै कारबाही नहुनुले यो सरकारकै मिलेमतोमा भएको प्रस्ट हुने उनको तर्क थियो ।

अन्त्यमा ओलीले यसलाई जनताको सहिष्णुतामाथिको खेलवाड र अपमान भन्दै मिडिया कार्यालयको गेटमा गाडी रोकिनु जस्तो नहुनुपर्ने कुरा पनि सहनुपरेको अवस्थालाई फासिजमकै एउटा उदाहरणका रूपमा प्रस्तुत गरे ।