एभरेस्ट अस्पताल र डा. ज्योत्सनालाई लापरबाहीमा ३९ लाख क्षतिपूर्ति आदेश
१ असार, काठमाडौं । प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ । अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले दिएको फैसलामा अस्पतालबाट ३० लाख र चिकित्सकबाट ९ लाख गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । अदालतका अनुसार सिभियर प्रि-एक्लेम्प्सिया भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनपछि मात्रै दिइएको विषयलाई गम्भीर कमजोरीका रूपमा लिइएको छ । चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत दायित्व पनि उत्तरदायी ठहर गरिएको छ।
फैसलाअनुसार २५ मंसिर २०८१ मा पेटदुखाइपछि मनिता एभरेस्ट अस्पताल पुगेकी थिइन् जहाँ साँझ सिजेरियन शल्यक्रियाबाट छोरीको जन्म भएको थियो । शल्यक्रियाअघि उनको रक्तचाप १८०/११० रहेको र उच्च रक्तचाप नियन्त्रणका लागि ल्याबेटालोल दिइए पनि म्याग्नेसियम सल्फेट भने शल्यक्रियापछि मात्र दिइएको अदालतले जनाएको छ।
पीडित पक्षले सिभियर प्रि-इक्लेम्सियामा एक्लेम्सिया र एचईएलएलपी सिन्ड्रोमजस्ता घातक जटिलता रोक्न शल्यक्रियाअघि नै औषधि दिनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको जिकिर गरेका थिए, जुन पालना नभएकाले बिरामीको अवस्था जटिल बनेको र सीपीआर समेत गर्नुपरेको उल्लेख छ । अवस्था बिग्रँदै गएपछि २६ मंसिरमा ह्याम्स अस्पताल रेफर गरिएको र भेन्टिलेटरमा सात दिनसम्म उपचार भए पनि हेल्प सिन्ड्रोम र प्रि-एक्लाम्पसियाका कारण मनिताको मृत्यु भएको थियो।
अदालतले त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विशेषज्ञ चिकित्सकको राय र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को उपचार निर्देशिका समेत आधार बनाई शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको स्पष्ट पारेको छ । प्रतिवादी पक्षले अत्यधिक रक्तस्राव हुन सक्ने भन्दै औषधि नचलाइएको जिकिर गरे पनि अदालतले यो दाबी पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ।
अदालतले महिला प्रजनन स्वास्थ्यजस्तो संवेदनशील सेवामा उच्चस्तरको सावधानी र संस्थागत जवाफदेहिता अपेक्षित भए पनि एभरेस्ट अस्पतालले सोअनुसारको सेवा प्रवाह गर्न नसकेको औंल्याउँदै चिकित्सक र अस्पताल दुवैलाई उत्तरदायी ठहर गरेको छ । क्षतिपूर्तिसम्बन्धी बाँकी दाबी भने पुग्न नसक्ने ठहर अदालतले गरेको छ।