भट्ट–श्रीराम टोबाको सम्बन्धमा संलग्न नरहेको विष्णु पौडेलको दाबी
काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ।
असार ८ गते पक्राउ परेका पौडेलले पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको प्रालिको शेयर खरिदमा सहजीकरण गरेको अनुसन्धानको निष्कर्ष रहेको बताइएको छ। तर आफ्नो बयानमा पौडेलले श्रीराम टोबाको उद्योगको २० प्रतिशत शेयर भट्टको कम्पनीलाई दिनु भनी आफूले नभनेको दाबी गरेका छन्।
पौडेलका अनुसार, दीपक भट्ट र श्रीराम टोबाको उद्योगबीचको सम्बन्धमा आफ्नो कुनै संलग्नता छैन र आफू ती सञ्चालकहरूसँग आफ्नै निर्वाचन क्षेत्रका बासिन्दा भएकाले मात्र चिनजान रहेको हो। सुपारी आयातसम्बन्धी निर्णयमा पनि श्रीराम टोबाकोलाई विशेष रूपमा लक्षित नगरिएको र उक्त विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीभित्र पर्ने उनको भनाइ छ।
नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिने अधिकार अर्थमन्त्रीसँग नरहेको कानुनी व्यवस्था औंल्याउँदै पौडेलले हिमालयन रिइन्स्योरेन्स तथा अन्य लघु बीमा कम्पनीको इजाजतसम्बन्धी विषयमा पनि आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन्।
जनकपुर चुरोट कारखानाको लाइसेन्स श्रीराम टोबाको उद्योगलाई दिने प्रस्तावसँग सम्बन्धित आरोपलाई पनि पौडेलले अस्वीकार गर्दै यो निर्णय सात वटा दीर्घकालीन घाटामा रहेका सार्वजनिक संस्थानको सरकारी लगानी व्यवस्थापनसम्बन्धी सामान्य प्रक्रियाअन्तर्गत भएको स्पष्ट पारेका छन्।
पौडेलले दीपक भट्टसँग मिलेर विभिन्न अवैध कार्य गर्न शेयर लिएको भन्ने आरोपलाई पनि आधारहीन बताउँदै आफूले कुनै पनि गैरकानुनी कार्यमा सहजीकरण नगरेको र पद-प्रभावको दुरुपयोग नगरेको दाबी गरेका छन्। साथै श्रीराम टोबाको उद्योगका केही सञ्चालकसँग चिनजान भए पनि व्यक्तिगत कारोबार वा साझेदारी नरहेको उनले स्पष्ट पारेका छन्।