मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि औपचारिक टोली गठन
जनकपुरधाम । सरकारसँग चलिरहेको संवादलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मिटरब्याजविरुद्ध आन्दोलनरत किसान-मजदुर समूहले औपचारिक वार्ता टोली गठन गरेको छ।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा बनेको यस टोलीमा महासचिव मनोजकुमार पासमान, प्रवक्ता रिजन राना मगर, हेडक्वार्टर सदस्यहरू लक्ष्मी घिमिरे र किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका अध्यक्ष निर्ग नवीन रहेका छन्।
मिटरब्याज पीडितहरू असार २५ देखि जनकपुरधामबाट काठमाडौंसम्मको पैदल न्याय मार्चमा रहेकै बेला सरकारसँग निरन्तर कुराकानी भइरहेको छ। बाराको निजगढमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा हालसम्म चार पटक वार्ता भइसके पनि ६ बुँदे मागमा लिखित सहमति नहुँदा वार्ता अझै टुंगोमा पुगेको छैन।
आन्दोलनरत पक्षले गृहमन्त्रीले पहिल्यै स्वीकारेको ६ बुँदे मस्यौदालाई हुबहु लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने अडानमा छन्। लिखित सहमति नहुन्जेल पैदल यात्रा नरोक्ने र आवश्यक परे काठमाडौंतर्फको मार्च फेरि अघि बढाउने चेतावनी पनि दिइएको छ।
अब आगामी वार्तामा यही गठित टोलीले नै मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्नेछ।