कांग्रेसको एमालेसँगको सहकार्य अन्त्य, सातै प्रदेशबाट मन्त्री फिर्ता
0 MIN READ
नेपाली कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँग गरेको सहकार्य तोड्ने निर्णय गरेको छ । प्रदेश सरकारहरूमा एमालेको व्यवहार सन्तोषजनक नरहेको भन्दै कांग्रेसले सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको हो ।
पार्टी स्रोतका अनुसार शीर्ष नेताहरूबीच लामो समयदेखि चलिरहेको छलफलमा सहमति बन्न नसकेपछि एमालेसँगको सहकार्यबाट कांग्रेस पछि हट्ने निष्कर्षमा पुगेको हो । कांग्रेसका एक पदाधिकारीका अनुसार पार्टी सातवटै प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारीमा छ ।
यसैअनुरुप आजै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् भने सुदूरपश्चिम प्रदेश सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिसकेको छ । हाल कर्णालीमा एमालेको र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार रहेकाले यी दुई प्रदेशबाट प्रक्रिया सुरु भएको हो, र बाँकी प्रदेशहरूमा पनि यही क्रम दोहोरिने देखिएको छ ।
तीन नेताले जानकारी दिएअनुसार प्रदेश सरकारमा नेकपासँग समझदारी कायम भएमा सोही सरकारमा रहने र नभएमा सबै प्रदेशमा प्रतिपक्षी बेञ्चमा बस्ने अनौपचारिक निष्कर्षसहित छलफल अगाडि बढाइएको छ ।