आत्म’दाहका घटनामा आर्थिक-सामाजिकसमस्या जिम्मेवार : मन्त्री लम्साल
1 MIN READ
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्म’दाहजस्ता घटना कुनै एक कारणले मात्र नभई लामो समयदेखिका आर्थिक, सामाजिक र न्यायसँग जोडिएका जटिल समस्याको परिणाम भएको बताएका छन् । यस्ता घटनाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लम्सालले भौतिक पूर्वाधार मन्त्रालयमा भुक्तानी नपाएको, ठेकेदारबाट पीडित भएको र मजदुरले पारिश्रमिक नपाएको लगायतका उजुरी नियमित रूपमा आउने गरेको जानकारी दिए । निर्माण व्यवसायी, आपूर्तिकर्ता र मजदुरहरू आर्थिक समस्यामा फसेको उनले उल्लेख गरे ।
विगत केही वर्षदेखि देखिएको आर्थिक असन्तुलनको एउटा प्रमुख कारण सार्वजनिक खरिद प्रक्रियामा भएको अत्यधिक प्रतिस्पर्धा (लो बिडिङ) रहेको दाबी उनले गरे, जसले निर्माण व्यवसायी, आपूर्तिकर्ता, मजदुर र समग्र बजारलाई नै प्रभावित पारेको बताए ।
यसै समस्या समाधानका लागि सरकारले खरिद ऐन संशोधन गरी एभरेज बिडिङ प्रणाली ल्याएको मन्त्रीले जानकारी दिए, जसअनुसार अब ३० प्रतिशतभन्दा बढी कम दरमा बोलपत्र हाल्ने प्रतिस्पर्धामा सहभागी हुन पाइनेछैन । यसले बजारमा रकम प्रवाह बढाउने, निर्माण गुणस्तर सुधार्ने र मजदुर-व्यवसायीको आम्दानी बढाउनेमा उनी विश्वस्त छन् । सरकारले आगामी तीन वर्षमा पूर्वाधार क्षेत्रमा १ हजार २७० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने योजना रहेको पनि उनले सुनाए ।
सडक सुरक्षाको विषयमा मन्त्रीले पछिल्लो पाँच वर्षमा भएका १ लाख २५ हजार ५६४ सडक दुर्घटनामा १२ हजार ४५२ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरे । यीमध्ये तीव्र गतिका कारण ५९ हजार ४२३, चालकको लापरबाहीले ३५ हजार १४५ र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ७ हजार ४१९ दुर्घटना भएको उनले जनाए ।
हाल चर्चामा रहेको ५० हजार रुपैयाँसम्मको ट्राफिक जरिवानाबारे भ्रम फैलिएको बताउँदै मन्त्रीले जरिवाना सवारीको गति, गल्तीको गम्भीरता र पटक-पटक दोहोरिएको अवस्थाका आधारमा निर्धारण हुने स्पष्ट पारे । जोखिमयुक्त क्षेत्रमा सडक बन्द गर्ने, पालिका र जिल्ला केन्द्रसम्मका सडक विस्तार गर्नेलगायत दीर्घकालीन योजना अघि बढाइने पनि उनले जानकारी दिए ।
अन्त्यमा मन्त्री लम्सालले निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवाग्राहीलाई अतिरिक्त रकम (पीसी) नदिन र कसैले मागेमा उजुरी गर्न आग्रह गरे, साथै काठमाडौं महानगरपालिकाका नगर प्रहरीको मनोबल कमजोर नबनाउन पनि आह्वान गरे ।