‘गौँथली’ प्रिमियरमा सेलिब्रेटीकोउत्साहजनक प्रतिक्रिया

gauthali-premiere-celebrities-praise-film

आगामी साउन १ गतेदेखि सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘गौँथली’ को प्रिमियर शो सम्पन्न भएको छ । झन्डै २५ वर्षअघि डाक्टर भोला रिजालले निर्माण गर्नुभएको गीति कथानकमा आधारित यस फिल्मलाई यसपटक नयाँ संवाद र प्रस्तुतीकरणसहित उहाँकै छोरा डा कपिल रिजालले निर्देशन गर्नुभएको हो ।

प्रिमियर हेर्न पुगेका फिल्म क्षेत्रका कलाकार, निर्देशक तथा सञ्चारकर्मीहरूले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पक्षको मुक्तकण्ठले प्रशंसा गरेका छन् । अभिनेत्री संचिता लुइँटेलले सबै कलाकारले आफ्ना पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउँदै दर्शकले सिनेमाघरमा भावुक हुनुपर्ने बताइन् । त्यसैगरी अभिनेता किरण केसीले पनि फिल्म सबै पक्षबाट सशक्त बनेको धारणा राखे ।

निर्देशक ओम प्रतीक र मिलन चाम्सले पनि फिल्मको पटकथा, संवाद, निर्देशन र कलाकारको प्रस्तुतिको तारिफ गर्दै बेलायतमा दन्त चिकित्सकको रूपमा स्थापित डा कपिल रिजालले नेपाली कला-संस्कृतिप्रति देखाएको लगावको प्रशंसा गरे । सञ्चारकर्मी प्रकाश सुवेदीले पनि फिल्मलाई पूर्ण भन्दै सबै पक्षले इमानदारीपूर्वक काम गरेको बताए ।

निर्देशक डा कपिल रिजालले आफूले पाएको प्रतिक्रियाबाट सन्तुष्टि व्यक्त गर्दै यो फिल्म बुवाको मौलिक कथा र आमाको जीवनयात्रामा आधारित रहेको जानकारी दिए । फिल्मको कथा एसएलसी पढ्ने सपना बोकेकी बालिकाको उमेर नपुग्दै असामान्य युवासँग विवाह भएपछि आउने जीवनका उतारचढावमा केन्द्रित छ, जुन निर्देशककै आमा सरला रिजालको वास्तविक जीवनी यात्रामा आधारित छ ।

फिल्ममा यसपटक ‘अटिजम’ विषयवस्तुलाई मूल कथाको रूपमा प्रस्तुत गरिएको छ । यस भूमिकामा रहेका अभिनेता अरुण क्षेत्रीले सुरुमा आफूलाई अटिजमबारे पर्याप्त जानकारी नभएको स्वीकार्दै पात्रको लागि अटिजम भएका व्यक्तिहरूसँग समय बिताई अध्ययन गरेको बताए । उनले अटिजम भएका व्यक्तिलाई औषधीभन्दा बढी परिवार र मायाको खाँचो रहेको औंल्याए ।

फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा संवाद लेखेका छन् भने सुमन गिरीले फिल्म निर्माण गरेका हुन् ।

घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको यो फिल्म साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ, जसलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।