July 13, 2026 0 MIN READ

दूरसञ्चार प्राधिकरणमा घिमिरे, प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त : परिणाममुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

0 MIN READ
ghimire-shrestha-ntc-press-council-appointment

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार यो नियुक्ति भएको हो।

नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरे। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले आजै पद तथा गोपनीयताको शपथ पनि लिए।

नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षसँग उच्च अपेक्षा रहेको बताए। सिफारिस समितिले न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढंगले काम गर्न सक्ने विश्वासका आधारमा उनीहरूलाई छनोट गरेको उल्लेख गर्दै नियामक निकायले आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको बताए। गलत सूचना र दुष्प्रचारलाई हालको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै त्यसको समाधानमुखी पहल आवश्यक रहेको उनले जनाए।

सञ्चारमन्त्रीले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको जानकारी दिँदै पुराना कानुन समयानुकूल परिमार्जन गरिने बताए। साथै प्रेस काउन्सिललाई थप सक्षम र जिम्मेवार संस्थाका रूपमा विकास गर्नुपर्ने औँल्याए।

दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष काम गर्न निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले नागरिकको स्वार्थलाई केन्द्रमा राखी अल्प, मध्यम र दीर्घकालीन कार्ययोजना तर्जुमा गर्न सुझाव दिए।