म्याप द सिस्टम प्रतियोगितामा किङ्स कलेजलाई अवार्ड
1 MIN READ
नेपालको किङ्स कलेजले बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको स्कोल सेन्टर फर सोसल अन्ट्रप्रन्योरशिपद्वारा आयोजित प्रतिष्ठित ‘म्याप द सिस्टम ग्लोबल फाइनल–२०२६’ प्रतियोगितामा ‘इनभल्भमेन्ट अफ अन्डररिप्रेजेन्टेड भोइसेज अवार्ड–२०२६’ जित्दै अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ।
विश्वभरका ४८ विश्वविद्यालय तथा कलेजका विद्यार्थी टोली सहभागी भएको प्रतियोगितामा नेपालका तर्फबाट अरुणा जोशी, कबिन श्रेष्ठ, मदन लम्साल, प्रकृति ढुङ्गेल र प्रशान्त पराजुली सम्मिलित किङ्स कलेजको टोलीले प्रतिस्पर्धा गरेको थियो।
टोलीले ‘नेपालमा मानव–बाँदर द्वन्द्वः कृषक विस्थापनको अध्ययन’ विषयमा प्रणालीगत सोच (Systems Thinking) मा आधारित अनुसन्धान प्रस्तुत गरेको थियो। अध्ययनमा मानव–बाँदर द्वन्द्वका कारण कृषि उत्पादनमा आएको गिरावट, खेतीयोग्य जमिन बाँझो हुँदै जानु, ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढ्नु, खाद्य सुरक्षामा परेको असर तथा नीतिगत र संस्थागत चुनौतीबीचको सम्बन्धको विश्लेषण गरिएको थियो। साथै, समस्याको दिगो समाधानका लागि आवश्यक नीति तथा प्रणालीगत हस्तक्षेपका उपायहरू पनि प्रस्ताव गरिएको थियो।
उक्त अवार्ड विशेषगरी अनुसन्धानमा सामान्यतया कम प्रतिनिधित्व हुने समुदायको आवाजलाई प्रभावकारी रूपमा समेट्ने टोलीलाई प्रदान गरिन्छ। नेपाली टोलीले किसान, स्थानीय समुदाय, अनुसन्धानकर्ता, संरक्षणविद् तथा नीति निर्माताको अनुभव र दृष्टिकोणलाई अनुसन्धानमा समावेश गरेकाले यो सम्मान प्राप्त गर्न सफल भएको हो।
‘म्याप द सिस्टम’ अक्सफोर्ड विश्वविद्यालयको स्कोल सेन्टरद्वारा सञ्चालित विश्वव्यापी शैक्षिक कार्यक्रम हो, जसले विद्यार्थीलाई सामाजिक र वातावरणीय समस्याका सतही लक्षण मात्र होइन, त्यसका मूल कारण, अन्तरसम्बन्ध र दीर्घकालीन समाधान पहिचान गर्न प्रणालीगत सोचको प्रयोग गर्न प्रोत्साहित गर्छ।
किङ्स कलेजको यो उपलब्धिले नेपालको उच्च शिक्षा, अनुसन्धान क्षमता र नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतालाई विश्वमञ्चमा थप स्थापित गरेको छ। साथै, नेपालको ग्रामीण कृषि, मानव–वन्यजन्तु द्वन्द्व र स्थानीय समस्याहरूलाई अन्तर्राष्ट्रिय बहस र समाधानको केन्द्रमा ल्याउन पनि यस सफलताले महत्वपूर्ण योगदान पुर्याएको छ।