दोलखामा पहिरो : चार महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

dolakha-landslide-infant-death-mother-injured

रामेछाप। दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गएको पहिरोमा परी चार महिनाकी एक शिशुको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे भएको यस दुर्घटनामा चार महिनाकी एलिना थामीको ज्यान गएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्।

प्रहरीका अनुसार शर्मिला आफ्नी छोरीलाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन्। सुनखानी–साङवा सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध भएपछि उनीहरू गाडीबाट ओर्लेर पैदल यात्रा गर्दै गर्दा माथिबाट खसेको पहिरोले आमा–छोरीलाई पुरेको थियो।

घटनापछि स्थानीयवासीले आमा–छोरीलाई उद्धार गरी दोलखास्थित बधुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरे। गम्भीर घाइते शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

निरन्तर वर्षाका कारण पहाडी जिल्लामा बाढी–पहिरोको जोखिम बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणसँग आग्रह गरेको छ।