मार्कीचोक–भरतपुर २२० केभी लाइनबाट विद्युत् प्रवाह सुरु, मन्त्री श्रेष्ठको पहल

markichok-bharatpur-220kv-transmission-line-electricity-flow-begins

काठमाडौं । मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको प्रयासमा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह भित्रिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यो लाइन सञ्चालनमा ल्याउन मन्त्री श्रेष्ठले स्वयं फिल्डमा गई पहल गरेका थिए, साथै स्थानीय जनप्रतिनिधि र बासिन्दासँग समेत छलफल गरेका थिए ।

लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका क्षेत्रमा विद्युत् सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।

मन्त्री श्रेष्ठका अनुसार यसले क्षेत्रीय प्रसारण प्रणालीलाई थप सन्तुलित, भरपर्दो र प्रभावकारी बनाउनुका साथै बत्ती ट्रिपिङ र आउने–जाने समस्या घटाउन सघाउने छ ।

विशेषगरी बर्खायाममा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले उत्पादन गर्ने विद्युत् भरतपुर हुँदै राष्ट्रिय प्रणालीमा सहज रूपमा जोड्न यसले ठूलो सहयोग पुर्‍याउने उनले बताए । यसअघि क्षमताभन्दा कम मात्रामा पावर हाउस चलाउनुपर्ने बाध्यता पनि यसले घटाउने मन्त्रीको भनाइ छ ।

निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट पहिले उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा जोडिने मन्त्रालयले जनाएको छ । यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धितर्फको महत्त्वपूर्ण कदमका रूपमा मन्त्री श्रेष्ठले उल्लेख गरे ।

तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सब–स्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सब–स्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत यो विद्युत् प्रवाह सुरु भएको हो ।