जागिर गुमाएको पीडा र बेरोजगारीबाट आजित विवेकद्वारा आत्मदाह प्रयास
सर्लाही । एमएस्सी उत्तीर्ण ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफूलाई आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । हाल उनी काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत छन् । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका बासिन्दा मण्डलको शरीरको ठूलो भाग जलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घटना शुक्रबार दिउँसो भएको हो । तत्काल उनलाई प्रादेशिक अस्पताल मलङ्गवा लगिई प्राथमिक उपचार गरिएको थियो । अवस्था गम्भीर देखिएपछि साँझ नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको थियो ।
परिवारका अनुसार विवेकले विज्ञानमा स्नातकोत्तर गरेपछि करिब एक वर्षअघिसम्म महोत्तरीको गौशालास्थित विद्यालयमा तीन वर्ष अध्यापन गरेका थिए । तर विद्यालयभित्रको आन्तरिक राजनीतिका कारण जागिर छोड्न बाध्य भएको परिवार र साथीहरूको दाबी छ । उनको पठनपाठन क्षमता राम्रो भए पनि राजनीतिक दबाबका कारण पद गुमाउनुपरेको उनका साथीहरू बताउँछन् ।
जागिर गुमाएपछि उनी घरमै बसी थुप्रै शैक्षिक संस्थामा प्रयास गर्दै लोक सेवा आयोगको परीक्षामा समेत सहभागी भएका थिए, तर सफलता हात लागेन ।
श्रीमती रिनादेवी मण्डलका अनुसार लम्बिँदो बेरोजगारीले उनी बिस्तारै निराशामा जान थालेका थिए । आमाबुवाको सम्पत्ति खर्चेर पढेपनि उपलब्धि हासिल गर्न नसकेको भन्दै उनी बेलाबखत मनको वेदना पोख्ने गर्थे ।
आमा मन्टुटिया देवीका अनुसार आर्थिक संकट र लामो बेरोजगारीले उनी मानसिक तनावमा परेका थिए, जसको केही समयअघि उपचार पनि गरिएको थियो ।
परिवारमाथि थप आर्थिक बोझ पनि छ । बुवा उपेन्द्र मण्डलका अनुसार विवेकको पढाइ र घरखर्चका लागि लिइएको गाउँघर र बैंकको ऋण गरी हाल करिब ३५ लाख रुपैयाँ तिर्न बाँकी छ ।
विवेकका दाजु चार वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा छन्, जसकै आम्दानीले परिवार र विवेकको उच्च शिक्षा धानिएको थियो । एमएस्सी सकेर शिक्षक बनेपछि आर्थिक अवस्था सुध्रिने अपेक्षा गरिएको भए पनि त्यो जागिर लामो टिकेन ।
विवेकको एक छोरा र एक छोरी छन् । छोरा महोत्तरीस्थित मामाघरमा बसेर पढ्दै छन् भने छोरी घरमै छिन् । पहिल्यैदेखि आर्थिक संघर्ष गरिरहेको परिवार अहिले उपचार खर्चको थप चापमा परेको छ ।