माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक, हल्दी डेको झलक

maya-bhanekai-yasto-hola-new-poster-released

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर आज निर्माण टिमले सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य कलाकारहरू समेटिएका छन् ।

पोस्टरको केन्द्रबिन्दुमा नायक दील श्रेष्ठ रहेका छन्, जो हल्दी डेको रमझममा देखिन्छन् । उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि हल्दी डेमा उपस्थित छन् ।

विवाहअघि मनाइने यो हल्दी डेका सबै सहभागी हर्षित मुद्रामा देखिन्छन् । सजावट गरिएको भव्य स्थान र पात्रहरूको पहिरनले खानदानी परिवारमा विवाह भइरहेको संकेत गर्छ । नम्राताको हातमा बधाइका लागि ल्याइएको बुके पनि देखिन्छ ।

मदनकृष्ण भने पोस्टरमा ह्विलचेयरमा देखिएका छन्, जसले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको संकेत गर्छ । यो पूर्ण पारिवारिक पोस्टरले चलचित्र एक फेमिली ड्रामा रहेको जनाउँछ र दर्शकलाई सपरिवार हलमा आई हेर्न आग्रह पनि गरेको छ ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र भदौ २६ गते सार्वजनिक हुँदैछ । हाल यो पोस्ट प्रोडक्सन चरणमा रहेको छ । यसै चलचित्रमार्फत रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय काम हो, र यसपटक उनले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’भन्दा बाहिर गएर काम गरेकी छिन् ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको मुख्य भूमिका छ भने उषा खड्गीको विशेष भूमिका छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको पनि उपस्थिति छ ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ यस चलचित्रका निर्माता हुन् । सुमधुर प्रेम कथामार्फत सामाजिक विषयवस्तु उठान गर्ने यो चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका छन् भने छायांकन सुदीप बरालको छ ।

चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप र चुडामणी (सीएम) प्रोडक्सनमा संलग्न छन् । रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरणको जिम्मा लिएका छन् ।