July 10, 2026 0 MIN READ

गगन थापा: सडक विस्तारले मात्रै समाधान हुँदैन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधारमा जोड

0 MIN READ
gagan-thapa-road-safety-public-transport-pedestrian-infrastructure

नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्र विकासको सूचक मान्ने परम्परागत सोच परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत ‘सडक सुरक्षा व्यवस्थापनः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयमा आयोजित छलफलमा बोल्दै उनले सडक चौडा बनाउँदैमा यातायात व्यवस्थापन, सडक सुरक्षा र सहरी विकासका समस्या समाधान नहुने स्पष्ट पारे। विगतमा सडक विस्तारका योजनाप्रति ठूलो अपेक्षा गरिए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै उनले अब सार्वजनिक यातायात, पैदलयात्रीमैत्री संरचना र दीर्घकालीन सहरी योजनामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

थापाले काठमाडौं उपत्यकामा सडक विस्तारसँगै सार्वजनिक बस सेवा प्रभावकारी बनाउने, सुरक्षित फुटपाथ निर्माण गर्ने, साइकल लेन विकास गर्ने तथा बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। उनले विगतमा फुटपाथको महत्वलाई पर्याप्त प्राथमिकता नदिँदा पैदलयात्री असुरक्षित बनेको र सहरी पूर्वाधार असन्तुलित भएको बताए। सार्वजनिक यातायातको प्रयोग बढाउन सके निजी सवारी साधनको प्रयोग क्रमशः घट्दै जाने र त्यसले ट्राफिक जाम तथा दुर्घटनामा समेत कमी आउने उनको धारणा थियो।

उनले नेपालमा सडक दुर्घटनाका कारण हुने मानवीय तथा आर्थिक क्षति चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गर्दै उत्पादनशील उमेर समूहका नागरिक सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको बताए। यसले परिवारको आर्थिक अवस्था कमजोर बनाउनुका साथै गरिबी न्यूनीकरणका प्रयासलाई समेत असर पुर्‍याउने उनको भनाइ थियो। सडक सुरक्षालाई केवल ट्राफिक नियमको कार्यान्वयनसँग मात्र नजोडी पूर्वाधार सुधार, प्रभावकारी सार्वजनिक यातायात, जनचेतना अभिवृद्धि र समावेशी सहरी योजनासँग जोडेर अघि बढाउनुपर्ने उनले बताए। कार्यक्रममा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र यातायात इन्जिनियर सागर पन्तले पनि सडक सुरक्षा सुधारका विभिन्न पक्षमा धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ डा. रामानन्द पण्डितले गरेका थिए।