गणेश नेपालीको आत्मदाह घटनामा निष्पक्ष छानबिन गर्न रास्वपा सांसद जगदिश खरेलको माग

rsp-mp-jagadish-kharel-demands-investigation-ganesh-nepali-case

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले प्रतिनिधिसभा बैठकमा गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष र प्रभावकारी छानबिनको माग गरेका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याई पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्।

सांसद खरेलले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए। उनले घटनाको वास्तविक कारण पत्ता लगाउन सरकारले गहिरो अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै कुनै पनि प्रकारको अन्याय हुन नदिन आग्रह गरे।

भाषणका क्रममा उनले नेपालमा बढ्दो आत्महत्या र मानसिक स्वास्थ्य समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार प्रत्येक दिन ठूलो संख्यामा मानिसले विभिन्न तरिकाबाट आत्महत्या गरिरहेका छन्, जुन समाज र राज्य दुवैका लागि गम्भीर चुनौती बनेको छ।

खरेलले उपलब्ध तथ्यांक उल्लेख गर्दै नेपालमा हरेक वर्ष हजारौँ मानिसले आत्महत्या गर्ने गरेको र ठूलो संख्यामा नागरिकले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोग्ने अवस्था रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई स्वास्थ्य नीतिको प्रमुख प्राथमिकतामा राख्दै प्रभावकारी कानुन, सेवा, संरचना र आत्महत्या रोकथामका कार्यक्रम विस्तार गर्न आवश्यक रहेको धारणा राखे।

उनले मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई केवल छलफलमा सीमित नराखी नीति निर्माण, सेवा विस्तार र नागरिकको सहज पहुँचसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।