July 10, 2026 0 MIN READ

आत्मदाह प्रयासपछि गणेश नेपालीको निधन, दाइसँगको अन्तिम संवाद– ‘दाइ, मेरो गल्ती थिएन’

0 MIN READ
ganesh-nepali-atmadaha-prayas-antim-samvad

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। उनको निधनपछि आयोजित पत्रकार सम्मेलनमा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सार्वजनिक गर्दै घटनाअघि र अस्पतालमा भएका घटनाक्रमबारे जानकारी दिएका छन्। मदन नेपालीका अनुसार घटनाको अघिल्लो साँझ गणेश श्रीमतीसँग उनको कोठामा आएका थिए। उनले खसीको खुट्टा ल्याएर पकाइदिन आग्रह गरेका थिए भने राति सामान्य रूपमा खाना खाएर सुतेका थिए।

भोलिपल्ट बिहान मोटरसाइकलको किस्ता तिर्नुपर्ने भएकाले आफूले गणेशलाई पठाओ चलाउन जान सुझाव दिएको र त्यसपछि उनी मोटरसाइकल लिएर घरबाट निस्किएको उनले बताए।दिउँसोसम्म पनि गणेश घर नफर्किएपछि परिवारले प्रतीक्षा गरिरहेको अवस्थामा प्रहरीबाट फोन आएको थियो। फोनमार्फत त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जानकारी पाएपछि मदन वीर अस्पताल पुगेका थिए।अस्पतालमा भेट हुँदा गणेशले कमजोर स्वरमा आमाबुवाको राम्रो हेरचाह गर्न आग्रह गरेका थिए। साथै उनले पटक–पटक ‘दाइ, मेरो गल्ती थिएन’ भन्दै आफूमाथि भएको घटनाको प्रसंग उल्लेख गरेका थिए। मदनका अनुसार गणेशले ह्वील लक र ट्राफिक कारबाहीसँग सम्बन्धित विषय उठाउँदै आफू निर्दोष रहेको बताएका थिए। केही समयपछि उनको बोल्ने अवस्था समाप्त भएको र उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ।

गणेश नेपालीको निधनसँगै घटनाको वास्तविक कारण र त्यसअघिका परिस्थितिबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।