फिफा विश्वकपले चीनको अर्थतन्त्रमा उछाल

fifa-world-cup-boosts-china-economy

फिफा विश्वकप फुटबलले चीनको अर्थतन्त्रलाई चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले त्यहाँको अर्थतन्त्रलाई थप गति दिइरहेको छ ।

सहरभरि आयोजना गरिएका पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा ठूला स्क्रिनमार्फत सामूहिक रूपमा खेल हेर्ने व्यवस्थाले पनि आर्थिक गतिविधि बढाएको छ । खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकीकृत गर्दै यो नयाँ व्यावसायिक मोडेलका रूपमा विकसित हुँदै गइरहेको छ ।

फुटबल समर्थक तियान वुजीका अनुसार साथीभाइसँग हरेक साताअन्त्यमा फुटबल खेल्ने र विश्वकपका बेला घर वा नजिकैको स्पोर्ट्स बारमा भेला भई खेल हेर्ने चलन रहेको छ । कामपछि सँगै बसेर पेय पदार्थ लिँदै खेल हेर्नु आनन्ददायी अनुभव भएको उनको भनाइ छ ।

अर्का समर्थक वाङ मेङयुआनले जर्मन र फ्रेन्च भाषा स्वयं सिकेको र युरोपेली फुटबल संस्कृतिप्रति गहिरो रुचि रहेको बताए । अनलाइनमा मूल भाषामै कमेन्ट्री सुन्दै खेल हेर्दा भाषा अभ्यास र खेलको मजा दुवै लिन पाइने उनको अनुभव छ ।

फुटबलप्रतिको यस्तै उत्साहले स्थानीय खुद्रा व्यापार र उपभोगलाई नयाँ ऊर्जा दिएको र विश्वभरका समर्थकलाई आकर्षित गरिरहेको छ । चीनभर खेलकुद, मनोरञ्जन र व्यवसायको संयोजनले सहरी क्षेत्रलाई चलायमान बनाउँदै ठूलो संख्यामा मानिस तान्न सफल भएको र रात्रिकालीन अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेको छ ।