July 8, 2026 0 MIN READ

आईपीओ तयारीमा ईजी सोलार, नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन सम्झौता

0 MIN READ
easy-solar-ipo-issue-management-national-capital-nepal

सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईजी सोलार लिमिटेडले पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। सोही तयारीअन्तर्गत कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने योजनासहित नेश्नल क्यापिटल नेपालसँग निष्कासन व्यवस्थापन (इश्यु म्यानेजमेन्ट) सम्बन्धी सम्झौता गरेको हो। सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर नेश्नल क्यापिटल नेपालले कम्पनीको आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय प्रक्रिया, कानुनी तयारी तथा समन्वयको जिम्मेवारी सम्हाल्नेछ।

सम्झौताबारे जानकारी दिँदै नेश्नल क्यापिटल नेपालका प्रमुख कार्यकारी अधिकृत अर्पण खनालले ईजी सोलारलाई सार्वजनिक कम्पनीका रूपमा अघि बढाउने प्रक्रियामा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै कम्पनीलाई पुँजी बजारमा प्रवेश गराउन आवश्यक सबै प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइने बताए। उनले नेश्नल क्यापिटल नेपालले पोर्टफोलियो व्यवस्थापनसँगै निष्कासन व्यवस्थापनलाई आफ्नो प्रमुख सेवामध्ये एकका रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरे। साथै सरकारले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको विस्तार, लगानी प्रवर्द्धन तथा पुँजी बजारको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार नेपालको अधिकांश लगानी तथा वित्तीय स्रोत अझै बैंकिङ प्रणालीमै केन्द्रित भएकाले कम्पनीहरूले शेयर बजारमार्फत दीर्घकालीन पूँजी जुटाउने संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक छ। उनले उद्यमी तथा व्यवसायीलाई बैंक ऋणमा मात्र निर्भर नरही पुँजी बजारमार्फत लगानी जुटाउन सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै ईजी सोलारसँग भएको यो सम्झौता त्यस दिशामा महत्वपूर्ण कदम भएको बताए।

सार्वजनिक कम्पनीमा रूपान्तरणपछि ईजी सोलारले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउँदै व्यवसाय विस्तार, नयाँ लगानी आकर्षित गर्ने तथा नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।