सडक सुरक्षा विधेयक अघि बढ्यो, राजमार्ग मर्मतको ठेक्का असारभित्रै
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा विधेयकलाई कानुन निर्माण प्रक्रियामा अगाडि बढाउने निर्णय भइसकेको जानकारी दिएका छन् ।
बुधबार बसेको समितिको बैठकमा सभापति गजुरेलले विधेयकको मस्यौदामा आवश्यक परिमार्जन गरी कानुन तर्जुमाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन अनुरोध गरिएको बताए ।
उनले भने, ‘मस्यौदा परिमार्जन गरी कानुन तर्जुमाका लागि सम्बन्धित मन्त्रालयमा पठाउने भनिएपछि सडक सुरक्षा विधेयक अगाडि बढेको जानकारी आएको छ । यसका लागि पूर्ण तयारी गर्न हामीले निर्देशन दिएका थियौँ ।’
सभापति गजुरेलले सडक मर्मत तथा वर्षायामको तयारीलाई प्रभावकारी बनाउन समितिले सम्बन्धित निकायलाई पहिले नै आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।
उनले थपे, ‘पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त जवाफअनुसार राष्ट्रिय राजमार्ग कार्यक्रम तयार भइसकेको छ । यस अन्तर्गत राजमार्गहरूको पटके मर्मतका लागि सडक विभाग मातहतका डिभिजन कार्यालयहरूले चालू आर्थिक वर्षको असार मसान्तभित्रै ठेक्का आह्वान गरिसक्ने र दुई हजार किलोमिटर मार्गका विभिन्न स्थानमा १५५ वटा हेभी इक्विपमेन्ट परिचालन भइसकेको तथा थप १२२ वटा स्ट्यान्डबाई अवस्थामा राखिएको जानकारी हामीलाई प्राप्त भएको छ ।’
देशभरका विभिन्न राजमार्ग क्षेत्रमा हालसम्म १५५ वटा हेभी इक्विपमेन्ट परिचालन भइसकेको र थप १२२ वटा इक्विपमेन्ट आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राखिएको समितिले जनाएको छ ।