चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै
चलचित्र ‘गौँथली’ प्रदर्शनको मिति नजिकिँदै जाँदा दर्शकको चासो बढ्दै गएको छ । साउन १ गतेदेखि सिनेमाहलमा आउने यो फिल्मको टिजर र ट्रेलरले दर्शकबीच राम्रै उत्सुकता जगाएको देखिन्छ ।
केही दिनअघि सार्वजनिक भएको ट्रेलर युट्युब ट्रेन्डिङमा पर्नुले यसप्रति दर्शकको आकर्षण बढेको संकेत गर्छ । हाल यो ट्रेलर नेपालको सिनेमा ट्रेन्डिङ सूचीमा दोस्रो स्थानमा रहेको छ ।
फिल्ममा अटिजमग्रस्त युवकको भूमिकामा देखिएका अरुण क्षेत्री र उनीसँगै अभिनय गरेकी सिम्रन खड्काको प्रस्तुतिले दर्शकको मन जितेको छ । प्रचार-प्रसारमा दुवै कलाकारले पुर्याएको मेहनतलाई पनि दर्शकहरूले सह्राएका छन् ।
कथाले अटिजमबाट प्रभावित युवकसँग नयाँ विवाह गरेकी युवतीले सामना गर्नुपरेको अवस्था, शिक्षाका लागि गरेको संघर्ष, समाजका परम्परागत मान्यता र यसले सपनामाथि पारेको असरलाई चित्रण गरेको छ, जुन दर्शकलाई मन परेको छ ।
डा. कपिल रिजाल निर्देशित यस चलचित्रमा अरुण र सिम्रनका साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायतका कलाकार देखिनेछन् । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले काम गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित यस चलचित्रको संवाद तथा पटकथा लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहभागिता रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र कपिल रिजाल निर्माताको जिम्मेवारीमा छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता रहेका छन् ।
संगीत शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको रहेको छ भने पाश्र्व संगीतमा एलिस कार्कीको योगदान छ । छायांकन हरि हुमागाईं र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक रहेका छन् । ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान र कोरियोग्राफी रामजी लामिछाने तथा मौसम हिमालीले गरेका छन् ।
फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।
उल्लेखनीय छ, ‘गौँथली’ नामको फिल्म डा. भोला रिजालले करिब दुई दशकअघि पनि बनाएका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ मानिन्छ । त्यो फिल्मले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । अहिले उनकै छोरा डा. कपिल रिजालले उही नाममा नयाँ चलचित्र निर्देशन गरेका हुन् ।