महिला आयोग व्यक्तिभन्दा संस्थागत प्रणालीमा चल्नुपर्छ : सभापति अवस्थी

women-commission-work-should-continue-institutionally-akriti-awasthi

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय महिला आयोगको कार्यसम्पादन, प्रगति तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको छ। बैठकमा समितिकी सभापति आकृति अवस्थीले राष्ट्रिय महिला आयोग संवैधानिक संस्था भएकाले यसको काम व्यक्तिको नेतृत्वअनुसार नभई संस्थागत प्रणालीका आधारमा निरन्तर अघि बढ्नुपर्ने बताइन्।

उनले नेतृत्व परिवर्तन भए पनि विगतदेखि भइरहेका कामलाई निरन्तरता दिँदै महिला तथा अन्य पीडितलाई निष्पक्ष रूपमा न्याय दिलाउनु आयोगको मुख्य जिम्मेवारी भएको उल्लेख गरिन्। आयोगले गोपनीयता, समावेशिता र निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै समितिको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्। बैठकमा सांसद रीमा विश्वकर्माले आयोग सिफारिसमा मात्र सीमित हुन नहुने, कार्यान्वयन नभएका सिफारिसबारे सम्बन्धित निकायसँग स्पष्टीकरण माग्नुपर्ने धारणा राखिन्।

साथै महिला हिंसा, हेल्पलाइन सेवा, आयोगको कार्यसम्पादन सूचक, अध्ययन–अनुसन्धान, तथ्यांकको विश्वसनीयता तथा आयोगका सदस्य र कर्मचारीको योग्यता तथा समावेशिताबारे पनि स्पष्ट जानकारी माग्दै आयोगको प्रभावकारिता बढाउन आवश्यक सुधार गर्नुपर्नेमा जोड दिइन्।