‘ब्रान्ड नेपाल’ अभियानमार्फत लगानी र पर्यटन प्रवर्द्धन गरिने : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्दै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गर्ने योजना अघि सारेको बताएका छन्।
राष्ट्रियसभामा परराष्ट्र मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर सन्तुलित कूटनीति सञ्चालन गरिने जानकारी दिए। उनले आगामी आर्थिक वर्षका लागि मन्त्रालयलाई ८ अर्ब ७३ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको उल्लेख गर्दै विदेशी लगानी, पर्यटन, सूचना प्रविधि, ऊर्जा, शिक्षा र स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरिने बताए। विदेशस्थित नेपाली नियोगमार्फत आर्थिक तथा सांस्कृतिक कूटनीति प्रवर्द्धन गर्न छुट्टै बजेट व्यवस्था गरिएको र ‘ब्रान्ड नेपाल’ अभियानमार्फत नेपाली उत्पादन, सेवा, संस्कृति तथा पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने जानकारी दिए।
साथै राहदानी र कन्सुलर सेवा पूर्ण रूपमा डिजिटल बनाउने, विदेशस्थित नेपालीका लागि घुम्ती शिविर सञ्चालन गर्ने, ‘डायस्पोरा विज्ञ सञ्जाल’ तथा ‘ज्ञान बैंक’ स्थापना गर्ने र विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धारलाई थप प्रभावकारी बनाउने योजना पनि उनले सार्वजनिक गरे।