सरकारको १०० दिने सुधार कार्यसूचीमा ८७.२ प्रतिशत उपलब्धि : वाग्ले
अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको १०० दिने शासकीय सुधार कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको दाबी गरेका छन्।
राष्ट्रियसभामा बजेटमाथिको छलफलका क्रममा उनले आर्थिक सुधार, सुशासन, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर सरकारले आफ्ना कार्यक्रम कार्यान्वयन गरिरहेको बताए। उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि योग, ध्यान, नेतृत्व विकास र तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै इमान्दार र सक्षम कर्मचारी तयार पार्ने लक्ष्य रहेको बताए। सरकारको आर्थिक नीति सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित रहेको उल्लेख गर्दै उनले आगामी सात वर्षभित्र १०० खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य सार्वजनिक गरे।
कर प्रणाली सुधार, भन्सार संरचना सरलीकरण, औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा रहेको जानकारी पनि उनले दिए। साथै वित्तीय संघीयता सुदृढ गर्न प्रदेश र स्थानीय तहका लागि अनुदान वृद्धि गरिएको र सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।